चिडियाखाना हेर्न अनलाइनमार्फत् टिकट बुकिङकाे व्यवस्था गर्ने सदर चिडियाखानाकाे तयारी

 माघ ९, २०७६ बिहिबार १७:४१:१८ | रासस
unn.prixa.net

काठमाण्डाै - तपाईँ चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईँले घरमै बसीबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ ।  

जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ । 

पहिलो पटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको  चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको समय बचत हुनुका साथै कर्मचारी अभावको समस्या पनि टर्ने डा पोखरेलले बताउनुभयो ।  टिकट काट्नका लागि भन्दै अहिले दैनिक पाँच कर्मचारी खटिएका छन् । तर आगामी दिनमा एक कर्मचारीले मात्रै अवलोकनकर्तालाई टिकट उपलब्ध गराउन सक्नेछन् ।     

प्रवेशद्वारमै सूचना केन्द्र 

अवलोकनकर्तालाई ध्यानमा राखेर चिडियाखाना व्यवस्थापनले प्रवेशद्वारमै सूचना केन्द्र स्थापना गरी विद्युतीय सूचनापाटी राखेको छ । सूचनापाटीबाट चिडियाखानामा राखिएका जनावरका बारेमा जानकारी लिन सकिन्छ ।

दश महिनाअघि स्थापना गरिएको सूचना केन्द्रबाट अवलोकनकर्तालाई निकै सहज भएको छ । सूचनापाटीमार्फत कुनकुन जनावर राखिएको छ , तिनका विशेषता के के हुन् , कहाँ पाइन्छन्, पाउन कतिको सहज छ, के खान्छन्  तथा कति वर्ष आयु छजस्ता विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।  

त्यसैगरी टिकट लिएर प्रवेश गर्ने बेलामै अवलोकनकर्ताले हाल के कति जनावर रहेका छन् र कुनको सङ्ख्या कति छ जस्ता विषयको जानकारी सहजरूपमा लिन सक्नेछन् । यति मात्रै होइन, कुन जनावर कुन स्थानमा राखिएको छ भनी हेर्नका लागि सहज बनाइएको छ । हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालयका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् । सूचना केन्द्रलाई यी विद्यार्थीका कारण निकै सहज भएको छ ।   

मुख्य आकर्षण

चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ जीवरजनावर छन् । मुख्य आकर्षणका रूपमा बाघ, भालु चितुवा, रेडपाण्डाजस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।  

पछिल्लो सयय काठमाण्डौ उपत्यकामा कम हुँदै गरेको खुलास्थान र जीव-जनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोकनकर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि  विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ रु १५ करोडको आर्थिक कारोबार हुने गरेको छ । 

उद्धार केन्द्रकाे अभाव 

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव छ । जङ्गली जनावरले समयसमयमा मानवबस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई  व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

त्यसरी मानवबस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तिनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्ने भए पनि चिडियाखानामा यस्तो स्थानको अभाव छ ।  

‘प्रत्येक वर्ष १०र१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ, तर स्थान अभाव छ’, प्रमुख व्यवस्थापक डा पोखरेलले भन्नुभयो ।

चिडियाखानाका सूचना अधिकारी लीना चालिसे उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकाले स्थान अभाव पनि भएको बताउनुहुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया