अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
झापा – झापाको कमल गाउँपालिका–५ मा रहेको सशस्त्र प्रहरीको पाथिभरा जवान तालीम शिक्षालयको जग्गा अतिक्रमणमा परेको छ ।
शिक्षालयको १५० बिघामध्ये ८७ बिघा जग्गा अतिक्रमणमा परेको हो।शिक्षालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुदिपजङग थापाले विभिन्न व्यक्तिले सुकुम्बासीको नाममा जग्गा हड्प्न खोजेको बताउनुभयो ।
मेची अञ्चलमा शान्ति सुरक्षा कायम गर्न विसं २०४८ माघ ३० गते मन्त्रिपरिषद्को निर्णयबाट रतुवामाई वृक्षरोपण आयोजनाको दुई हजार ८०० हेक्टर जग्गामध्ये १०० हेक्टर जग्गा तत्कालीन पाथिभरा गणलाई भोगाधिकार दिइएको थियो ।
गण हटेपछि सो स्थानमा विसं २०७५ माघ २७ गते प्रदेश नं १ कै सशस्त्र प्रहरीको तालीम केन्द्र बनाइएको थियो । सशस्त्रलाई दिएको जग्गामध्ये प्रस्तावित आदिवासी जनजाति रङ्गशालाका लागि ३३ बिघा जग्गा छुट्याइएको प्रमुख थापाले बताउनुभयो ।
सशस्त्र प्रहरीको भोगाधिकारभित्रको जग्गा भएकाले संरक्षण गर्नु आफ्नो कर्तव्य भएको थापाले बताउनुभयो । ‘यो जग्गा सरकारको हो, भोलि सरकारले अन्य प्रयोजनका लागि पनि प्रयोग गर्नसक्छ’, उहाँले भन्नुभयो, ‘सशस्त्रलाई दिएको जग्गा रङ्गशालाका लागि प्रयोग गरियो, त्यस्तै अन्य प्रयोजनका लागि सरकारले सो जग्गा प्रयोग गर्नसक्छ, त्यसका लागि संरक्षण गर्न आवश्यक छ ।’
माथिल्लो निकायसँग छलफल गरेर जग्गा खाली गराउन आफू लागिरेको उहाँको भनाइ छ । मौखिक सहमतिका आधारमा सशस्त्रको प्रयोगविहीन जग्गा शुरुमा खेती प्रयोजनका लागि दिइएको थियो । पछि पशुचौपायाका लागि भनेर टहरा निर्माण गरियो ।
त्यसयता कच्ची घर निर्माण गरेर करीब ४५ परिवार बस्दै आएका छन् । खेती गर्न मात्र दिइएको जग्गामा घर टहरा निर्माण भएपछि समस्या सिर्जना भएको हो ।
गत पुस मसान्तयता सशस्त्र प्रहरीले करीब ५० टहरा भत्काएको छ । ‘मानिस बस्नेबाहेक गोठ र टहरा भत्काएका छौँ’, प्रमुख थापाले भन्नुभयो, ‘मानवीय संवेदनशीलताको ख्याल गर्दै सेल्टर लिएर बसेका मानिसको घर भत्काएका छैनौँ, घर हटाएर जग्गा खाली गर्न भनेका छौँ ।’ जग्गा खाली नगरे बल प्रयोग गरेर भए पनि जग्गा खाली गर्ने उहाँको भनाइ छ ।
जग्गा भोगचलन गर्दै आएकालाई गत जेठमा जग्गा खाली गर्न भने पनि उनीहरुले कमल गाउँपालिका–५ को वडा कार्यालयमा जेठ २५ गते धानको बीउ राखिसकेकाले ‘सहमति गराइ पाउँ’ भन्दै निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी र वडाध्यक्ष डम्बरबहादुर निरौलाको रोहवरमा पुस मसान्तसम्मको समय थप थरिएको थियो । सहमतिपत्रमा तोकिएको समयमा जग्गा खाली नगरे ‘प्रचलित कानून बमोजिम सहुँला भोगौला’ भन्ने उल्लेख छ ।
सोही जग्गा आफ्नो भएको भन्दै अर्जुनधारा–३ का गोपीकृष्ण पोखरेलले तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमि सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय दमक, साविक लखनपुर–१ स्थित सशस्त्र पाथीभरा गणलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हाल्नुभएको छ ।
पोखरेलले आफूले मुद्दा जितिसकेको भन्दै त्यहाँ बासोवास गर्नेलाई ठाउँ खाली नगर्न भनिरहेकाले ठाउँ छोड्न राजी भएका पनि अटेर गरेर बसिरहेका छन् ।यता, कमल–५ का वडाध्यक्ष निरौलाले उक्त जग्गा सशस्त्र प्रहरीकै भएको जनाउनुभयो । उहाँले उक्त जग्गामा बस्न दिने÷नदिने अधिकार सशस्त्र प्रहरीकै भएकाले वडा कार्यालयले त्यसमा हस्तक्षेप नगर्ने बताउनुभयो ।
सो जग्गामा पाँचथर, भोजपुर, तेह्रथुम, झापालगायतका विभिन्न स्थानबाट मानिस आएर खेती र बसोवास गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।