वडाध्यक्ष हत्या प्रकरण : अनुसन्धानका लागि सात जना नियन्त्रणमा

 माघ २२, २०७६ बुधबार १४:१९:० | रासस
unn.prixa.net

अछाम – विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीकाे हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाण्डौबाट आएको सीआइबीको टोली र धनगढीबाट आएको तालिमप्राप्त कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो । 

मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएको हो । बुधबार बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

घटनास्थलमा काठमाण्डौबाट आएका सीआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको कमान्डमा ६ जना प्रहरी परिचालन भएका छन् । यस्तै, अछाम प्रहरीको सम्पूर्ण संयन्त्र परिचालन भएको प्रवक्ता अवस्थीको भनाइ छ । 

यस्तै अछामका प्रजिअ भोजराज श्रेष्ठ र प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले समेत अनुसन्धानको नेतृत्व गरिरहनुभएको बताइएको छ । मृतक वडाध्यक्ष धामीसँग सोमबार राति ८/९ बजेसम्मसँगै रहेका सातजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको र सोधपुछ भइरहेको अवस्थीको भनाइ छ ।

विनायक बजार बन्द

घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुधबार बिहानदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका छन् ।

विनायक बजारका पसलहरु बन्द छन् भने आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् । पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ । वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृतावस्थामा भेटिनुभएकाे थियाे । ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया