क्रिकेट खेलाडीले प्रतिखेल पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने

 माघ २८, २०७६ मंगलबार ८:४:९ | रासस
unn.prixa.net

काठमाण्डाै – एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेले बापत ५ हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को मङ्गलबार बसेको कार्यसमितिको बैठकले याे निर्णय गरेको हो । सन् २०२० को जनवरीदेखि लागू हुने गरी याे पारिश्रमिक दिइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

यसअघि नेपाली खेलाडीले खेले बापत पारिश्रमिक पाउने गरेका थिएनन् । यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको उहाँले बताउनुभयो । खेलाडी वर्गाीकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहेकाे समिति गठन गरिएको छ । 

याे समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ । समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेस गर्नेछ ।

यसरी श्रेणीबद्ध गरिएका खेलाडीले वर्गीकरण गरिएअनुसार पारिश्रमिक पाउनेछन् । यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए । आउँदाे चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया