कोरोना भाइरससम्बन्धी थप उच्च सतर्कता अपनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

 माघ २९, २०७६ बुधबार २०:४७:५८ | रासस
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले चीनबाट फैलिएको कोरोना भाइरस नेपाल भित्रिन नदिन थप उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद शेरबहादुर तामाङले कोरोना भाइरसले विश्वव्यापी संकट निम्त्याएकाले त्यसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

चीनसँगका सीमानाका, व्यापार र आवतजावतका क्रममा विशेष ध्यान पुर्‍याउनुपर्ने र हेलचेक्र्याईँ हुन नदिन सरकारले विशेष अभियान चाल्नुपर्ने उहाँको भनाइ छ । यस्तै सिन्धुपाल्चोकमा फैलिएको भाइरल संक्रमण कोरोना नभएकाले अनावश्यक हल्ला गरेर त्रास नफैलाउन पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै सांसद विद्या भट्टाराईले विमानस्थल र चीनसँगको सीमानाकामा राखिएको स्क्यानिङ मेसिनबाट हुने जाँचलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । यस्तै सांसद सुजाता परियारले कोरोनाले चीनबाट फैलिएको कोरोना नेपाल भित्रिए ठूलो संकट निम्तिने भन्दै यसबाट जोगिन सबै उपाय अपनाउन सरकारले प्रयास थाल्नुपर्ने बताउनुभयो ।

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीको उद्धार छिटो गर्न सरकारसँग आग्रह गर्नुभयो । विद्यार्थीको उद्धारका लागि अभिभावकले आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै सरकारले छिटो, छरितो र व्यवस्थित रुपमा नेपाली विद्यार्थीलाई स्वदेश ल्याउनुपर्ने सांसद परियारको जोड छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया