कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एक जनाकाे ज्यान गयाे

 फागुन ३, २०७६ शनिबार १९:९:११ | रासस
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसकाे सङक्रमणबाट फ्रान्समा एक चिनियाँ पर्यटकको ज्यान गएको पुष्टि भएको छ ।

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले चिनियाँ पर्यटककाे ज्यान गएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको ज्यान गएको पुष्टि भएको छ ।’

एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट ज्यान गएकाे याे पहिलाे पटक हाे । बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको छ ।

बुजिनले भन्नुभयो ‘फ्रान्समा  ज्यान गुमाएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसमा रहेकाे उक्त अस्पतालमा एकान्तमा राखी सेवा प्रदान गरिएको थियो । केही दिन यता उहाँको स्वास्थ्य अवस्था ‘निकै विग्रिएको’ थियो ।’

चिकित्सकको अथक प्रयासका वाबजुत पनि उहाँलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताउनुभयो । चीनको मध्य क्षेत्रमा रहेकाे हुबेईको राजधानी वुहानबाट गएकाे डिसेम्बरमा देखा परेको काेराेना भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको ज्यान गएकाे छ । चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ ।

चीनको वुहान र आसपासका ठाउँमा रहेका करिब पाँच करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेण्टाइनमा राखिएको छ । चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र उनीहरुमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया