अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
चितवन – राप्ती र नारायणी नदीमा गएकाे वर्ष छाडिएका तीन वटा गोही मरेको अवस्थामा भेटिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुई वटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।
ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ । अधिकृत खड्काले भन्नुभयो, 'मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।'
यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र स्याटलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही स्याटलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।
राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आइतबारबाट नै थालिने निकुञ्जले जनाएको छ । मुखमा जाल बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।
ती दुई नदीमा भाले गोही नभएपछि बबईबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबईबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उहाँले जानकारी दिनुभयो । यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ ।
निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर १२ वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो । तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो ।
अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए । निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा अहिलेसम्म एक हजार चार सय ५५ वटा गोही छाडिसकिएको छ । तीमध्ये राप्तीमा मात्र सात सय ८५ गोही छाडिएको छ ।
निकुञ्जका अनुसार नारायणी नदीमा तीन सय ९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा एक सय १० वटा गोही छोडिसकिएको छ ।
पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । यस वर्ष यसै महिनाबाट प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय १ गोही रहेका छन् ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।