मन्त्रालय मैले मागेकाे हाेइन, आवश्यकताले दिएकाे हाे : मन्त्री तुम्बाहाङ्फे

 फागुन ५, २०७६ सोमबार १८:५८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानुन मन्त्तालयको जिम्मेवारी पाएको बताउनुभएको छ ।

पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताउनुभएको हो ।

उपसभामुखबाट राजीनामा दिएपछि कानुन मन्त्रालय दिने योजना सहमति भएको थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले कुनै योजनाबद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताउनुभएको हो । ‘यो लिने दिने चिज होइन । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उहाँले भन्नुभयो ।

उपसभामुख पदमा रहँदा काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा 'सिस्टम' बसालेर आफू बाहिरिएको बताउनुभयो ।

'गएकाे माघमा राजीनामा दिँदै गर्दा मैले यू–टर्न गर्छु भनेको थिएँ । त्यसैअनुसार मन्त्रालयको जिम्मेवारीमा आएँ । जिम्मेवारी निर्वाह गर्ने क्रममा फिल्डभित्र बसेर काम गर्दा प्रभाव हुन्छ भनेर नै जिम्मेवारी सम्हालेको हुँ’, उहाँले भन्नुभयो ।

उहाँले साेमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँदै पदभार ग्रहण गर्नुभएकाे छ । उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी यसअघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियाे ।  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया