नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

 फागुन ९, २०७६ शुक्रबार १९:४६:५३ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभएको हो । इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । साहसी, दूरदर्शी र  प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उहाँको भनाइ थियो । 

प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिनुभयो । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उहाँको भनाइ थियो । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गर्नुभयो । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । समितिका अध्यक्ष हरिशरण थापाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो । 

त्यस अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई सम्मान गरिएको थियो । सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्र दह र काजी कालु पाँडेको समाधिस्थल पनि रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया