महाशिवरात्री : झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन, रातिसम्म दश लाख पुग्ने अपेक्षा

 फागुन ९, २०७६ शुक्रबार २०:३२:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - महाशिवरात्रिका दिन आज सात लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरेका छन् ।

बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर जलधारासहित अखण्ड पूजन भइरहेको छ र यो समाचार तयार गरिएका बेलासम्ममा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ । 

आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले बताउनुभयो । 

अपराह्नदेखिको झरीको कुनै पर्वाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे ।

पचपन्नवटा धार्मिक–सामाजिक सामाजिक संस्थाले वनकालीमा एकीकृत रुपमा करीब पाँच हजार भक्तजनको सुुविधाका लागि भोजन, घामपानी छेक्ने त्रिपाल र पण्डाल खडा गरेका तथा भारतबाट आएका झण्डै २५०० तीर्थयात्रीका लागि त्यस्तै सुरक्षित संरचना बनाइएकाले तीर्थयात्रीको बिचल्ली नभएको पराजुलीले स्पष्ट गर्नुभयो ।

 साधु, सन्त, महन्त, नागा बाबालगायत‍लाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ । महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा सुरक्षालगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई कोषसहित सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहभाागितामा एकीकृतरुपमा सुदृढ तुल्याइएको र कुनै किसिमका अप्रिय घटना नभएका प्रहरी वृत्त गौशालले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Bhrikuti

    Feb. 21, 2020, 9:25 p.m.

    आज बिहान ५.४८ देखि एयरपोर्टको लाइनमा बसेको , २.३० मा मात्र जान पाइयो / लगभग ८/९ घण्टा लाइनमा बसेर भित्र जाँदा पनि शिव भगवानको दर्शन राम्ररी गर्न पाइएन / पशुपतिको जात्रा सिद्राको ब्यापार ...भनेझैँ व्यवस्थापन कत्ति पनि राम्रो थिएन /

  •  0 Reply

तपाईको प्रतिक्रिया