एयर काष्ठमण्डप दुर्घटनामा आफू मरेर यात्रुलाई बचाउने पाइलटकाे शालिक निर्माण चार वर्षदेखि अलपत्र

 फागुन १०, २०७६ शनिबार १०:३९:१९ | रासस
unn.prixa.net

काठमाण्डाै - एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईँहरुलाई बचाउँछौँ ।’ उहाँका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्‍यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो । 

दुर्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाउनुभयो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो जहाजको इञ्जिन एक्कासि फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको सो दुर्घटनाबाट यात्रुलाई पुनःजन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बिसाउनु परेको थियो । 

‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । क्याप्टेन न्यौपानेले इञ्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन । जहाज ग्लाइड ९बेलुनजस्तै उडाएर० गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो ।  

कालीकोटको चियाखाँयामा  फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा प¥यो । इञ्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सक्नुभएन । 

विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट  राना ककपिटमै किच्चिनुभयो । क्याप्टेन न्यौपानको तत्कालै  र  को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो । चालकद्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाउन सफल हुनुभयो । 

जहाजको इञ्जिनभित्र रहेका छ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ । ‘आफू मरेर अरुलाई बचाउने  न्यौपाने’ले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिनुभएको थियो । यात्रुलाई जीवन दान दिनुभएका न्यौपाने र रानाले वीर पदक पाउनुभयो । 

चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो । उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्‍याे । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो । 

उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ । चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भन्नुभयो, “दुःखमा रहेका  हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।” 

नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पाका को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन ।”

शालिक निर्माणमा भएको ढिलाइप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन् ।

आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुबा मानदत्तको आरोप छ । उहाँले भन्नुभयो, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट रु एक लाख पाएका थियौँ, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौँ ।” 

चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । “करिब रु सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मानदत्तले भन्नुभयो, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ ।” 

बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव बाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत ४ गते पाइलट चोक नामकरण भयो । जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाउनुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया