भारत भ्रमणकाे क्रममा अमेरिकी राष्ट्रपतिले विश्वकै ठूलो रङ्गशाला उद्घाटन गर्नुहुने

 फागुन १०, २०७६ शनिबार १४:३१:३३ | रासस
unn.prixa.net

काठमाण्डौ - दुई दिने भारत भ्रमणका लागि आउन लाग्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नुहुने भएको छ । ट्रम्पले आउँदाे साेमबार गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्नुहुने कार्यक्रम छ । 

मोटेरा स्टेडियम समेत भनिने पटेल रङ्गशालाको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ । खेल मैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको आयोजना समेत गरिने भएकाे छ । नमस्ते ट्रम्प भन्ने कार्यक्रम गएकाे वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो ।

त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुवैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गर्नुभएको थियो । उहाँले भारतको ताजमहलको भ्रमण गदै सूर्यास्तको अवलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उहाँको भ्रमणका क्रममा नहुने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दबाब दिनका लागि रणनीतिक मित्रका रुपमा भारतलाई उपयोग गर्न खोजेको छ । 

‘भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,’ ७३ वर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भन्नुभएको छ । ट्रम्पले गत नोभेम्बरको निर्वाचनअघि पनि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गर्नु भएको थियो । उहाँले मोदीसँग व्यापारका कुरा भने हुने बताउनुभएको छ । 

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानिया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहनु हुने छ । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्ली ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुने छ । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण अवलाेकन गराउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लाग्नुभएको हो । 

नमस्ते ट्रम्प कार्यक्रमपछि उहाँ श्रीमतीसहित ताजमहल अवलोकन गर्न जानुहुने भएको हो । ट्रम्पको टोली ताजमहलमा एक घण्टा बिताउने तालिका छ । भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा र व्यापारलगायतका विषयमा छलफल गर्नुहुने भएको छ । 

ट्रम्प राष्ट्रपति भएपछिको उहाँकाे याे पहिलो औपचारिक भारत भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लाग्नुभएको हो । उहाँको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ ।

मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ । 

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनुभएको छ ।

यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो । उहाँ आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया