बाँस्काेटाकाे अडियाे प्रकरणमाथि सरकारले अनुसन्धान गर्छ : नेकपा नेता गुरुङ

 फागुन १०, २०७६ शनिबार १८:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले अनुसन्धान गर्ने बताउनुभएको छ ।

शनिबार काठमाण्डाैमा आयोजित साक्षात्कारमा बोल्दै गुरुङले पूर्व सञ्चारमन्त्री बाँस्काेटाले भ्रष्टाचार गरे नगरेकोबारे अख्तियारले छानविन गर्ने बताउनुभएकाे हाे ।  

सेक्युरिटी प्रेससम्बन्धी विषय जीटुजी सम्झौताबाट मात्र गर्ने भनिए पनि विना ग्लोबल टेण्डर गरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहीबीचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको उहाँले बताउनुभयो ।

उहाँले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र समितिले पेश गर्ने प्रतिवेदन अनुसार हुने बताउनुभयो । नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र उसले एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र पारित गर्न सुझाव दिएकाे बताउनुभयो ।

उहाँले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रधानमन्त्री ओलीले बताउनुभए पनि पार्टीको निर्णय नै अन्तिम हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नव-सामन्तवादी शोषणको अध्याय सुरु भएको बताउनुभयो ।

उहाँले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले वैदेशिक लगानी ल्याउनुपर्ने तर एमसीसीमा रहेका असमान सम्झौतामा सुधार गर्नुपर्ने बताउनुभयो । त्यस्तै सरकारको बजेट पूर्णरुपमा असफल भएको र बजेटले सबै तहमा भ्रष्टाचारलाई विकेन्द्रीकरण गरेको बताउनुभयो ।

त्यस्तै धर्म निरपेक्षताको नाउँमा नेपालको संस्कृतिमाथि हमला हुँदा समेत सरकारले चासो नदिएको आरोप समेत उहाँले लगाउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया