कोरोना भाइरस नियन्त्रण गर्न सहयोग गरेकोमा बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको धन्यवाद

 फागुन १०, २०७६ शनिबार १८:३७:३४ | रासस
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जीनफिङले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनुभएको छ ।

राष्ट्रपति चिनफिङले लेख्नुभएको छ, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु । अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनुभएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ उहाँले चीन अहिले महामारीविरुद्ध लडिरहेकाेले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

बिल गेट्सको अगुवाइमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।

कोविड-१९ नाम दिइएको काेराेना भाइरसका कारण अहिलेसम्म २ हजार ३४५ जनाको ज्यान गइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । अहिलेसम्म विश्वका २५ देशमा यसको सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया