ट्र्याक्टरको ठक्करबाट एक जनाकाे ज्यान गयाे

 फागुन १०, २०७६ शनिबार १९:२१:११ | रासस
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिका-११ मा ट्र्याक्टरको ठक्करबाट शनिबार अपराह्न एक वृद्धको ज्यान गएको छ ।

लु ३ त ५४३२ नम्बरको ट्र्याक्टरले सडकमा हिँड्दै गरेका ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिनुभयो । 

ट्र्याक्टरको ठक्करबाट घाइते भएका जसगढलाई उपचारका लागि भेरी अस्पताल लैजाने क्रममा ज्यान गएकाे हाे । ठक्कर दिने चालक र ट्र्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा ट्राफिक व्यवस्था अव्यवस्थित हुँदै जाँदा सडक दुर्घटना बढ्दै गएका छन् ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर नगरभित्र यातायात व्यवस्था सुदृढ गर्न लागिएको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया