एन्टिबायाेटिक किन कम प्रयाेग गर्ने ?

 फागुन ११, २०७६ आइतबार १३:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

चिकित्सकले सिफारिस नगरि एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर चिकित्सकको सिफारिसबिना नै एन्टिबायोटिक औषधि खानेको सङ्ख्या बढ्दै गएको छ ।

नेपालमा एन्टिबायोटिकको जथाभाबी बिक्री र प्रयोग हुँदै आएको चिकित्सकले बताएका छन् । एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा ठूलो असर पारिरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक प्रतिरोध (रेसिस्टेन्स) का कारणहरु 

 – चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक सिफारिस (प्रिस्क्राइव) गर्नु ।
 – बिरामीले उपचार बीचैमा छाड्नु ।
 – पशुपंक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु ।
 – सरसफाइ तथा स्वच्छताको अभाव हुनु ।
 – नयाँ एन्टिबायोटिक उत्पादन नहुनु ।
 – स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकताभन्दा बढी औषधि सिफारिस गर्नु ।
 – एन्टिबायोटिक उपचार निर्देशिका नहुनु ।
 – एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन/अनुसन्धान नहुनु ।
 – नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङ्क नहुनु ।

प्रयोगकर्ताले ध्यान दिनुपर्ने कुरा 

– आधिकारिक स्वास्थ्यकर्मीको ‘प्रेस्क्रिप्सन’ मा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने, स्वास्थ्यकर्मीसँग अनावश्यक एन्टिबायोटिक माग नगर्ने ।
– नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने र खोप नियमित लगाउने ।   

स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने कुरा 

– सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्ने ।
– आवश्यक बिरामीलाई मात्र एन्टिबायोटिक ‘प्रिस्क्राइव’ तथा वितरण गर्ने ।
– बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक  प्रतिरोध (रेसिस्टेन्स) को बारेमा बताउने ।
– जिवाणु प्रतिरोधी सङ्क्रमणको बारेमा निगरानी गर्ने टिमलाई जानकारी गराउने ।
– बिरामीलाई सङ्क्रमण रोकथामको लागि बताउने । 

( विना न्यौपानेले त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जको फार्माकोलोजी विभागका प्रमुख डाक्टर सतीशकुमार देवसँग गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया