शेयर बजारमा अहिलेसम्मकै धेरै काराेबार : साढे तीन अर्ब नाघ्याे

 फागुन ११, २०७६ आइतबार १५:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शेयर बजारमा आज अहिलेसम्मकै धेरै कारोबार भएको छ ।

आज काराेबार बन्द हुँदासम्म ३ अर्ब ६० कराेड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँकाे काराेबार भएकाे हाे । यस अघि गएकाे बिहीबार एकैदिन २ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे जुन त्यस बेलासम्मकाे उच्च काराेबार थियाे ।

आज दिनभर ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँका ८७ लाख ६९ हजार कित्ता शेयर किनबेच भएका छन् । नेप्से परिसूचक पनि आज अस्वभाविक बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज १४ सय ३५ अंक नजिकबाट कारोबार सुरु भएको थियो । परिसूचक झण्डै ७० अंकले बढेर १५ सय ४ दशमलव १४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

दिउँसो १ बजेर २२ मिनेट जाँदा परिसूचक १५ सय १० अंक नजिक पुगेको थियो । नेप्से परिसूचक आज ४ दशमलव ८५ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६८ प्रतिशतले बढेको छ ।

कुन समूहको सुचक कत्ति सुधार ?

आज सबै समूहको उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १९२ दशमलव ३६ अंकले बढेको छ । त्यस्तै नीर्जीवन बीमा समूहको १३९ दशमलव ८५ अंकले उपसुचक बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार बैंकिङ समूहको ८६ अंक, विकास बैंक समूहको ८४ अंक र उत्पादनमूलक समूहको उपसुचक ७३ अंक भन्दा धेरैले बढेको छ ।

धेरै कारोबार गर्ने कम्पनी 

आज ४ कम्पनीको कारोबार १० करोड रुपैयाँ नाघेको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा एनएमबी बैंक लिमिटेड रहेको छ । यो कम्पनीको १२ करोड ५६ लाख रुपैयाँ भन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ करोड ८२ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड ३७ लाख रुपैयाँ, हिमालय डिष्टिलरी लिमिटेडको १० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए 

आज १२ वटा कम्पनीका शेयर लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् । सबैभन्दान धेरै फष्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड, कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, मेघा बैंक लिमिटेड, आरएसडीसी लघुवित्त वित्तिय संस्था लिमिटेड, एभरेष्ट बैंक लिमिटेड लगायत कम्पनीका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।

बजार सुधार हुँखा पनि गुमाउनेहरु

सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम अत्याधिक बढ्दा पनि केही कम्पनीका शेयर लगानीकर्ताले भने आज गुमाउनुपरेको छ । तारागाउँ रिजेन्सी होटल लिमिटेड, बरुण हाईड्रोपावर लिमिटेड लगायत कम्पनीका शेयर लगानीकर्ताले ५ प्रतिशत भन्दा धेरै गुमाउनुपरेको छ । केही दिनदेखि सेयर बजारमा लगातार उल्लेख्य सुधार हुँदै आएको छ । अघिल्लो हप्तामा पनि कारोबार हुने सबै दिन कारोबार र परिसुचक बढेको थियो ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ ।

जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ । लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताउनुभयो ।

उहाँले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताउनुभयो ।

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्नेगरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ । त्यस्तै नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्सहित बनाएकोछ । लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वाश बढ]काले नै आइतबारको बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च वृद्धि भएको बताउनुभयो ।

यस्तै लगानीकर्ताले शेयरबाजरका विरोधीका रुपमा लिदै आएका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने हल्लाले पनि आइतबारको बजारमा असर पारेको देखिन्छ । खतिवडा राष्ट्रिय सभाबाट हटेपछि अर्थमन्त्रीबाट समेत स्वतः हटने भएकाले लगानीकर्ता सकारात्मक देखिएका हुन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया