५ दिनमा सगरमाथा चढ्दै ४ शेर्पा, विश्व कीर्तिमानकाे लक्ष्य

 फागुन १२, २०७६ सोमबार १८:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने घाेषणा गरेका छन् । 

सङ्खुवासभा मकालु गाउँपालिकाका चार जना हिमाल आरोहीले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी छोटो समयमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न लागेकाे जानकारी गराएका हुन् । 

आठ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टाँसिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ । 

आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतर्फ खिच्न 'विन्टर सिजन' अर्थात् जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताउनुभयो । 

उहाँले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभए पनि निकै छाेटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पुर्‍याउन खोजिएको बताउनुभयो ।

आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा बिरलै हुने गरेको र यसअघि सन् १९८० र सन् १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताउनुभयो । तर यसपटक आफूहरुले यही फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया