इरानमा कोरोना भाइरसबाट ५४ जनाको ज्यान गयाे

 फागुन १७, २०७६ शनिबार १४:२८:१ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट शनिबारसम्म इरानमा ५४ जनाले ज्यान गुमाएका  छन् । इरानकाे राजधानी तेहरान र सुरूमा भाइरस देखा परेकाे कुम सहर काेराेना भाइरसकाे उच्च प्रभाव परेकाे अधिकारीहरुले बताएका छन् ।

इरानकाे स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्याभन्दा यो छ गुणा बढी रहेकाे बताएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले कोरोना भाइरसबाट ३४ जनाको ज्यान गएको जानकारी दिएका थिए ।

यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए । अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव गरेकाे शुक्रबार एउटा संसदीय समितिलाई बताउनु भएकाे थियाे । 

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनुभएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । अहिलेसम्म विश्वमा ८३,००० जनाभन्दा बढीमा काेराेना भाइरस सङ्क्रमण भएकाे पुष्टि भैसकेकाे छ । 

इरानी अधिकारीहरूले भाइरस नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।

शनिबारबाट देशभरका विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया