उदाहरणीय नगरपालिका : गाडी किन्न छुट्याएको रकमले रोलर र पानी ट्याङ्की

 चैत १, २०७६ शनिबार १०:२०:४१ | रासस
unn.prixa.net

सप्तरी - सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ ।

नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको २०७६ असार ३१ गते सम्पन्न नगरसभाले प्रमुखका लागि गाडी खरिद गर्न रु ५० लाख छुट्याएको थियो । सोही रकमबाट ४२ लाखमा रोलर र ६ लाखमा पानी हाल्ने ट्याङ्की खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललनकुमार कर्णले जानकारी दिनुभयो ।

नगरपालिकामा रहेको स १ ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । नगरप्रमुख र उपप्रमुखका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो ।

तर, गएकाे मंसिरमा बसेको कार्यपालिकाको बैठकले गाडीलाई छुट्याएको बजेट रकमान्तर गरी निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गर्ने निर्णय गरेको नगरउपप्रमुख आशा चौधरीले जानकारी दिनुभयो ।

‘नगरको आवश्यक्ताअनुसार उक्त निर्णय गरिएको हो’, नगरप्रमुख शर्माले भन्नुभयो । नगरपालिकाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गरी एक महिनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिदको प्रक्रियासमेत अघि बढाएको छ ।

‘सामान्य अवस्थाबाहेक अधिकांश बिरामीलाई उपचारका लागि राजविराज, धरान र विराटनगर पुर्‍याउनुपर्ने हुनाले नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएर नागरिकलाई सुविधा दिन खोजेको हो’, नगरप्रमुख शर्माले भन्नुभयो ।

अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला सप्तकोशी नगरपालिकाले निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गरेर उपयुक्त निर्णय गरेको स्थानीय न्यासुर तामाङले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया