चितवनमा 'काेराेना विशेष अस्पताल', स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता

 चैत ७, २०७६ शुक्रबार ११:३:४३ | रासस
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिका १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शय्याकाे ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा  तथा जनरल वार्ड शुक्रबारदेखि नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै  अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो । 

महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबारदेखि अस्पतालको सेवा शुभारम्भ हुने जानकारी दिनुभयो । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को निर्देशन अनुसार आवश्यक तालिम समेत दिइएको छ । 

अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ । 

महानगरपालिका प्रमुख  दाहालकाे संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गर्न लागेको हो । कार्यदलका प्रवक्ता डा. भोजराज अधिकारीले अस्पताल सञ्चालन गर्न जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शय्या ल्याइएको जानकारी दिनुभयो ।

प्रयोगशाला, रेडियोलोजी लगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन् । अस्पताल सञ्चालनका लागि उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घले आ–आफ्नो ठाउँबाट सहयोग गरेको उहाँले बताउनुभयो । अस्पतालमा सरकारी अस्पताल, निजी मेडिकल कलेज र भरतपुर महानगरपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
 
अन्य सबै खर्च अहिले भरतपुर महानगरपालिकाले गरिरहेको जनाएको छ । अस्पतालमा छिट्टै १० शय्याकाे सघन उपचार कक्ष र १० शय्याका हाई डिपेन्डेन्ट युनिट (एचडीयू) समेत सञ्चालन गरिँदैछ । यसका लागि काम अघि बढिसकेको प्रमुख डा. अधिकारीले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया