आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
सप्तरी – साउनको दोस्रो साता बित्नै लागेको छ तर वर्षा भएको छैन । चर्को घाम र प्रचण्ड गर्मीका कारण धानका बीउ सुक्न थालेको छ । मोटर, पम्पिङ्गसेटको भरमा रोपिएका धान खेतहरुमा पानी नपरेपछि जमिन चिरा पर्न थालेको छ भने रोपिएका बीउ मर्न थालेका छन् ।
धानबाली लगाउने समय बित्नै लाग्दा यसपाली खडेरी पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ सप्तरीका किसानहरुलाई । खेत रोप्न नपाएको पीडा त किसानहरुलाई छँदैछ, त्यसमाथि रासायनिक मल नपाउँदा निकै समस्या भोग्नुपरेको छ ।
सप्तरीमा गहुँ बाली लगाउने बेला होस् या धानबाली लगाउने बेला । यहाँका किसानका लागि मल नपाउनु प्रमुख समस्या बन्ने गरेको छ । भोट दिएर जिताएका जनप्रतिनीधिहरु पनि किसानको समस्याप्रति गम्भीर नभएको रुपनी गाउँपालिका वडा नम्वर–५ बसबिट्टीका मोहम्मद सकुर बताउनुहुन्छ । उहाँ चारदिनदेखि मल लिनका लागि प्रत्येक दिन बिहानै राजविराज धाउने गर्नुहुन्छ ।
सकुर बिहानदेखि दिनभरी लाइनमा बस्नुहुन्छ । साँझपख मल सकिएको भनी कर्मचारीले सूचना दिएपछि निराश भएर फर्केको धेरै दिन भइसक्यो उहाँ भन्नुहुन्छ ‘शासन व्यवस्था त बदलियो तर व्यहार बदलिएको छैन, हिजो जे थियो आज पनि त्यस्तै हालत छ ।’ अधिकारप्राप्तिकालागि आन्दोलन भएको चर्चा गर्दै आफूहरुले भोट दिएर जिताएका प्रतिनिधिहरुले समेत यसतर्फ चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।
किसानहरुलाई थप सुविधा दिनुपर्नेमा प्रदेश सरकारले आश्वासनमात्र दिने गरेकोे छिन्नमस्ता गाउँपालिका गाउँपालिका–५ का गणेश शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘यहाँ त पैसा तिरेर पनि मल पाउन गाह्रो छ, अब त लाग्छ खेती छाडिदिउँ तर वर्षभरि बालबच्चाको भरणपोषण कसरी गर्ने भनी चिन्ताले पिरोल्ने गर्छन् ।’
कृषि सामग्री केन्द्र लिमिटेडले सहकारी संस्थामार्फत सप्तरीका किसानहरुलाई रसायनिक मल उपलब्ध गराउँदै आएका छन् । तर, सुपथ मूल्यमा विक्री गर्ने भनी लगिएको रसायनिक मल सहकारी संस्थाले मनपरी मूल्य बढाएर विक्रीवितरण गर्ने गरेको किसानहरुको गुनासो छ ।
रोपाइँ गर्न चटारो रहेको मौकाको फाइदा उठाउँदै सहकारीले डीएपी, युरिया र पोटास मलमा निर्धारित मूल्यभन्दा बढी प्रतिबोरा ४ सयदेखि ६ सय रुपैयाँसम्म बढी मूल्यमा बिक्री गर्ने गरेको किसानहरु बताउँछन् ।
धान रोपाइँको सिजनमा डिएपी, युरिया र पोटास गरी झण्डै १५ हजार मेट्रिक टन रसायनिक मलको आवश्यकता रहे पनि आवश्यकता अनुसार कृषि सामाग्री केन्द्रले आपूर्ति नदिदाँ जिल्लामा रसायनिक मलको अभाव भएको जिल्ला सहकारी संघको भनाई छ ।
जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश कुमार गुप्ताका अनुसार कृषि सामाग्री केन्द्रले आपूर्ति नदिदाँ सप्तरीमा हालसम्म २ हजार मेट्रिक टन रसायनिक मल मात्रै वितरण गर्न सकिएको हो ।
यता, कृषि सामग्री केन्द्र लिमिटेड राजविराजले सुरुमा डीएपी मल केही रुपमा अभाव रहे पनि युरिया, डीएपी र पोटास गरी ८ हजार मेट्रिक टन जिल्लाका सहकारीलाई वितरण गरिरहेको दावी गरेका छन् ।
किसानलाई मारमा पार्ने गरी रसायनिक मलको कालोबजारी भैरहेको विषयमा गुनासो आएकोले अनुगमन थालिएको मलखाद्य आपूर्ति समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।