आफ्नै स्वास्थ्यमा किन यस्तो बेपर्वाह ?

 चैत १३, २०७६ बिहिबार २१:१९:० | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ कालिकास्थान-मैतिदेवीको भित्री सडकमा बुधबार साँझ मानिसको भिड बाक्लो थियो । कतिपय मानिस खाद्याह्न र तरकारी खरिदमा झुम्मिएका थिए ।

कतिपय रमाइलो हेर्न आएका थिए । ‘कस्तो हुँदो रहेछ बन्द भनेर निस्केको पुरै ठप्पै रहेछ’ युवा आपसमा कुरा साट्दै थिए । समूह–समूहमा मानिसको जमघट थियो । 

कोठा भित्र बस्दा वाक्क लागेर बाहिरी अवस्था हेर्न निसिकएका भन्नेहरु पनि भेटिए । दिनभर सुरक्षा अवस्था चुस्त देखिए पनि साँझ सडकमा सवारीको चाप केही बढेको पाइन्थ्यो । 

उपचार विधि पत्ता नलागेको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणले अहिले विश्व प्रभावित बनाएका बेला नेपालमा हुने सम्भावित जोखिम रोक्ने उद्देश्यले सरकारले यही चैत ११ गतेबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको थियो । 

उक्त आदेश चैत १८ गते बिहान ६ बजेसम्म लागू हुनेछ, तर त्यसलाई वास्ता नगर्ने प्रवृत्ति देखिएको छ । सरकारको उद्देश्य कोही मानिस एक अर्कासँग सम्पर्कमा जान नपाओस् भन्ने हो । 

जसका कारण एक व्यक्तिबाट अर्कोमा रोग सर्न पाउँदैन । सानो कमजोरीले पनि स्थिति भयावह हुनसक्न भन्नेतर्फ आफैँ सचेत हुनुपर्छ । पूर्ण कार्यान्वयमा कतै न कतै कमजोरी भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा महामारीको रुप लिँदै गएको कोभिड–१९ एउटा सरुवा रोग भएकै कारण मानिसमा सजिलै फैलन्छ । त्यसैले नेपालमा रोग फैलनु अघि नै सावधानी अपनाउन सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको हो । 

तर, सर्वसाधारणले यसलाई गम्भीरतापूर्वक  लिएको पाइएको छैन । यस्तो समस्या जिल्ला जिल्लामा देख्न सकिन्छ । सामाजिक सञ्जालमा तस्वीर र भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

मूल सडक र शहरमा सरकारी आदेशको पालना प्रभावकारी देखिए पनि भित्रि बजार र सडकका छिटफुट बेपर्वाहले आम मुलुकलाई नै प्रभावित गर्न सक्न भन्नेतर्फ हेक्का कम देखिएको छ । आफ्नै स्वास्थ्यमा पनि किन यस्तो बेपर्वाह रु गम्भीर प्रश्न खडा भएको छ । 

सरकारको मात्रै भर पर्नुभन्दा पनि सरकारलाई सहयोग गर्नु आम नागरिकको कर्तव्य हो, फेरि यो आफ्नै स्वास्थ्यका लागि हो भनेर हामी आफैँ सचेत हुनुपर्छ भन्ने चेत मानिसमा आउनुपर्छ भन्नुहुन्छ, मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना । उहाँ मानिसमा कुनै नयाँ कुरा जान्ने इच्छा चाहनाभन्दा अहिलेको अवस्था फरक रहेकाले आफूले आफैलाई सम्हाल्नुपर्ने बताउनुहुन्छ । 

डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशको सूचिमा राखिसकेको छ । त्यसैलाई मध्यनजर गरी नेपाल सरकारले अहिले देशलाई लकडाउनकै स्थितिमा राखेर अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ ।

आज तेस्रो दिन हुँदा पनि सरकारको आदेश मूल सडकमा पूर्ण कार्यान्वयन भए पनि भित्री भागमा भने त्यस्तो देखिँदैन । यातायातका साधनमा हिाडेकालाई प्रहरीले पक्राउ गरेर छाड्ने गरेका भए पनि अनावश्यक रुपमा पैदल हिँड्नेको हकमा प्रहरीको समेत चासो कम पर्ने गरेको छ । साँझको समयमा भित्री सडक र बजारमा मानिसको उपस्थिति बाक्लै देखिन्छ । 

विश्वबाट सिक्ने कि !

गएको डिसेम्बर ३१ मा पहिलो पटक चीनको उहानबाट शुरु भएको कोभिड–१९ को सङक्रमण यूरोप अमेरिका हुँदै विश्वका १९८ देशमा फैलिसेको छ । छिमेकी देश चीन र भारतमा कोरोनाका कारण मानिसको ज्यान समेत गइसकेको वर्तमान अवस्थामा नेपालले आजको मितिसम्म त्यो स्थिति व्यहोर्नुपरेको छैन । तीन जनामा भाइरस सङ्क्रमण भएको पाइएको छ । तीनै जना विदेशबाट आएका हुन् । 

यस हिसाबले नेपालमै बसेकामा अहिलेसम्म सङ्क्रमण नदेखिनु सकारात्मक हो । कथम कदाचित हामीले यसैगरी बेपरवाह गर्यौ भने स्थिति परिवर्तन हुन सक्नेतर्फ बेलैमा ध्यानदिन आग्रह गर्नुहुन्छ, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ । 

इटली र स्पेनमा कोभिड-१९ कै कारण केही दिन अघिसम्म दैनिक सयौँ व्यक्तिको ज्यान गएको विवरण छ । इटालीमा सरकार होस् या नागरिकले बेलैमा सावधानी नअपनाउँदा स्थिति भयावह बन्न पुगेको समाचार आइरहेका छन् । 

चीनले तत्कालै सम्बन्धित प्रान्तलाई लकडाउन गर्दा उसले क्षति कम बेहोर्नुपर्यो । त्यसैको पाठ सिकेर नेपाल सरकारले पूर्व सावधानी स्वरुप अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको हो । विश्वाका धेरै देश अहिले यही प्रक्रिया अपनाइरहेका छन् । 

भारतले आफ्नो देशलाई २१ दिनको लकडाउन गरिसकेको छ । अष्ट्रेलया, जोर्डनलगायत देशले पनि त्यसलाई कडाइका साथ लागू गरेको छ । दक्षिण अफ्रिकाले पनि सोही विधि अपनाइएको छ ।

यस्तो छ मनोविद्को टिप्स 

मनोविद् पदमराज जोशी सञ्चारमाध्यामले पनि यस्तो अवस्थामा सकारातमक सन्देशलाई प्रथमिकता दिनुपर्ने बताउनुहुन्छ । सामाजिक सञ्जालमा राख्ने विषयहरु समेत छनोट गरेर सकारात्मक दृष्टिकोणबाट राख्नुपर्नेमा उहाँको सुझाव छ ।

उहाँका अनुसार हरेकले अन्य व्यक्तिको मानसिक स्वास्थ्यबारे ख्याल राख्नुपर्छ । कोरोना विरुद्धको एउटा उपचारात्मक विधि घर मै रहनु हो । आत्मबल बलियो बनाउनुपर्छ । फेसबुक वा अरु सञ्जालमा घरीघरी नकारात्मक सूचना प्रवाहित गर्नुहुँदैन, त्यस्तो गर्दा अरुको पनि आत्मबलमा ह्रास आउन सक्छ ।

विपद्का बेलामा आत्तिनु हुँदैन । यो कम्जोर भाइरस हो भनेर केवल आफ्नो भावना र व्यवहारलाई नियन्त्रण गर्नुपर्छ । खानपिनमा अरु बेला जस्तै ब्यस्त रहनुपर्छ । गीत सङ्गीतमा रमाउउँदै आफू र परिवारलाई व्यस्त बनाउनुपर्छ । 

बालबालिकाका लागि उमेर पुगेका आफ्ना आमाबाबुलाई सेवा र सत्सङ्ग गर्ने यो उपयुक्त समय पनि हो । परिवारमा रमाइलो वातावरण बनाउनुपर्छ, ता की सबै खुशी हुन पाओस् । 

जोशी थप्नुहुन्छ, ‘आफूलाई व्यस्त राख्न विभिन्न आन्तरिक उपाय निकाल्नुहोस् र रमाइलो लिनुस्, नियमित व्यायाम, अभ्यास, योगा ध्यान गर्नुहोस, तालिम प्राप्त व्यक्ति, मनोविमर्शकर्ता, मनोविद्, मनोचिकित्सकसँग परामर्श लनुहोस् ।’उहाँले धैर्यता र आत्मबल बढाउने काम गर्न तथा घरभित्रै खेलिने खेलमा रमाउँदै साबधानी अपनाउनु सुझाव दिनुभयो । 

राससका लागि नारायण ढुंगानाले तयार पार्नु भएको

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Ashok

    March 26, 2020, 9:25 p.m.

    यहाँ हामी एक महिना भन्दा बढी भयाे काेठा भित्र बस्न थालेकाे। त्यहाँ २ दिन काेठामा बस्दा दिक्क लाग्याे रे।

  •  0 Reply

तपाईको प्रतिक्रिया