कोभिड-१९ : सुरक्षाकर्मी कति सुरक्षित ?

 चैत १४, २०७६ शुक्रबार २१:३:३१ | रासस
unn.prixa.net

काठमाण्डौ - भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । 

केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भएको थियो । क्वारेन्टीनमा बसेका नेपालीहरुको भागाभाग हुँदा पनि प्रहरी नै भीड नियन्त्रणमा खटिनुपरेको थियो ।

यस्तो परिस्थितिमा भीडभाड नियन्त्रणका लागि अग्र–पङ्क्तिमा खटिनुपर्ने सुरक्षाकर्मी आफू चाहिँ कति सुरक्षित ? मास्क र सामान्य पञ्जाले मात्रै जोखिमबाट सुरक्षित होला ? सुरक्षाकर्मी एक जनामा रोग देखियो भने अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना अधिक हुन्छ । 

‘हामी जस्तोसुकै परिस्थितिमा पनि नेपाल र नेपालीको सुरक्षामा खटिन्छौँ, हाम्रो प्रण हो, तर मनोबल बढाउने काममा नेतृत्व गम्भीर हुनुपर्छ’ काठमाण्डौको सडकमा सुरक्षार्थ खटिएका एक प्रहरी जवान अनुभव सुनाउँदै भन्नुभयो । उहाँ हातमा पञ्जासमेत नलगाई सुरक्षामा खटिनुभएको थियो । 

हर मान्छे निस्किन्छन् । समाएरै लैजानुपर्ने बाध्यता हुन्छ । दूरी कायम नगर्दा जोखम बढी हुन्छ । देशभरभर सुरक्षामा खटिएका नेपाल प्रहरीले आफ्नो सुरक्षाका लागि सेनिटाइजर र मास्कबाहेक अरू स्वास्थ्य सुरक्षामा गम्भीर भएको पाइँदैन ।

सशस्त्र प्रहरीको पनि अवस्था उस्तै छ । यस्तो परिस्थितिमा मनोबल उच्च बनाउनका लागि पनि प्रोत्साहन भत्ता दिनुपर्ने कतिपयले बताएका छन् । प्रहरी निरीक्षकभन्दा माथिल्लो तहका प्रहरी कर्मचारीलाईभन्दा पनि परिवार नभनी दिनरात सुरक्षामा लागेका तल्लो तहका कर्मचारीको विषयमा सरकारको ध्यान जानुपर्ने कपिपयले गुनासो गरेका छन् । 

महानगरीय प्रहरी कार्यालय काठमाण्डौका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल उनीहरुको मनोबल नगिरोस् भन्नेमा नेतृत्व सचेत रहेको बताउनुहुन्छ । ‘सङ्गठनका उच्च तहका अधिकृतहरु सँगसँगै खटिएका छौँ, जुन उहाँहरुको मनोबलमा आँच नआओस् भन्ने नै हो’, पोखरेलले भन्नुभयो । 

‘सबैको भोगाई उस्तै हो, सरकारको आदेश उल्लङ्घन नगर्नुस् भनेर नजिक गएर बोल्नुपर्छ, सामान्य कपडाको मास्क लगाएर दैनिक रुपमा सुरक्षामा खटिनुपर्छ, सबै घरबासमा बसेका बेला रातदिन परिवार नभनी सडकमा खटिनुपर्छ’एक प्रहरी कर्मचारीले गुनासो गर्दै भन्नुभयो ।

सरकार र जिल्ला सुरक्षा समितिको निर्देशनअनुसार आवश्यक मात्रामा टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नाबय महानिरीक्षक प्रविणकुमार श्रेष्ठ बताउनुहुन्छ । 

प्रहरीलाई सबैभन्दा जोखिम छ, त्यसैले केही सावधानी अपनाउँदै सानो टोली बनाएर परिचालन हुने, अधिकतम गाडीको प्रयोग गर्ने, मोटरसाइकल प्रयोग गर्ने गरिएको र सूचना लिने काममा बढी सक्रिय भएको उहाँले जानकारी दिनुभयो । 

अहिले सडकमा आउनु कतिपयकोे रहर देखिन्छ । प्रहरीको भने कर्तव्यसँगै बाध्यता छ । जोखिमपूर्ण अवस्थामा सुरक्षामा खटिएको प्रहरीको तलब काट्ने कुरा पनि सुनिरहेकाले त्यसरी तलब काट्न असर पर्ने चिन्ता तल्लो तहका प्रहरी कर्मचारीको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया