दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै

 चैत १५, २०७६ शनिबार १८:१८:७ | रासस
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशैभर  ‘लकडाउन’ गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक एक सय ५० भन्दा बढी मानिस पैदल नै काठमाण्डौबाट बाहिरिन थालेका छन् । 

‘लकडाउन’ भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् । 

नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा समेत वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको उपप्रमुख तामाले बताउनुभयो । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ । 

नगरवासीको अनुरोधमा नगरपालिकाले विदेशबाट फर्किएका ११ जनाको ज्वरो लगायतको स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापान लगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा अहिले ठिक देखिए पनि १४ दिनसम्म घरमै क्वरेण्टीनमा बस्न अनुरोध गरिएको उपप्रमुख तामाङले बताउनुभयो । 

नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क (मुखावरण) वितरणका लागि वडा वडामा पठाएको छ । 

नगरपालिकाको वडा नम्बर १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आइ कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या क्षमताको अस्पताल तयार पार्न लागिएको जनाइएको छ । 

लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्न लगायतको अभाव हुन सक्ने भएकाले नगरपालिकाले प्रहरीको सहयोग लिएर नियमित अनुगमन समेत गरिरहेको छ । 

खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दुरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया