माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास : इन्धन र निर्माण सामग्री आयातमा समस्या

 चैत २३, २०७६ आइतबार २०:२७:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यही २० गते बसेको बैठकले केही ठूला आयोजनाको काम जारी राख्न सक्ने निर्णय गरेको थियो ।

 ‘लकडाउन’को समयमा काम गर्न अप्ठ्यारो भएपनि आफूहरुले निर्माण जारी नै राखेपनि केही अत्यावश्यक सामग्रीको आयातसमेत सहज नहुँदा जटिलता पैदा भएको आयोजनाले जनाएको छ । 

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार काम जारी राख्न हरसम्भव प्रयास भइरहेको छ, तर निर्माण सामग्रीको आयातमा देखिएको असहजताका कारण केही समस्या देखिएको छ । 

कुल ४५६ मेगावाट क्षमताको त्यस आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमणको त्रास पछि पछिल्ला केही दिनमा आयोजनाको काममा समस्या पैदा भएको छ ।  

सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तै अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

 समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिई भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने चैत २० गतेको निर्णयमा समावेश थियो । 

आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति नभएको हो । तर, कुल ६८३ मिटर लामो दुई वटा ठाडो सुरुङमध्ये कोरोना कहर देखिनु अघिसम्म कुल ४६३ मिटर पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

उहाँका अनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा १७५ मिटर पाइप जडान भएको छ ।

त्यसमा अब १३५ मिटर पाइप जडान गर्न बाँकी छ । यस्तै कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमध्ये कुल २९० मिटरमा पाइप जडान भएको छ । सो सुरुङमा अब ८३ मिटर पाइप जडान गर्न बाँकी रहेको छ । समग्रमा हेर्दा दुवै सुरुङको २२० मिटर पाइप जडान कार्य बाँकी छ ।

‘बाटो सहज नभएका कारण ती सामान आयातमा जटिला देखिएको छ । कुनै उपाय लगाएर भएपनि सामान ल्याउने प्रयत्न भने जारी छ’ प्रवक्ता न्यौपानेले भन्नुभयो । आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मुख्य सुरुङमा अन्तिम चरणको ढलान सम्पन्न हुनै लागेको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउदो वैशाखभित्र ठाडो सुरुङमा पाइप जडानको कार्य सम्पन्न गर्न गएको फागुन १४ गते आयोजनास्थल पुगेर निर्देशन दिनुभएको थियो । 

आउदो असारभित्र सबै बाँकी काम पूरा गरेर पहिलो युनिट सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः अन्य युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने लक्ष्य राखिएको छ । 

आयोजनाका अनुसार माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः सात र पाँच दिनमा आइसकेकाले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले बताएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङको बीचमा रहेको तेस्रो भागमा पाइप जडान शुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले गत फागुन १४ गते निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग संयुक्तरूपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गर्नुभएको थियो । 

निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतको गम्भीर चासो छ । विशेषगरी आयोजनाको लट–२ को ठेकेदारले पनि विगतमा भन्दा काममा केही सुधार गरेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ पुस २३ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ । 

कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्सम्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गर्नुभएको थियो 

प्रसारण लाइनको १२७ टावर निर्माण र ४७ किलोमिटर तार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २२० केभी सबस्टेशनको सिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया