अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काभ्रे - काभ्रेमा कोरोना भाइरसको परीक्षण गरिएका १७ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
कोरोना भाइरस संक्रमणको आशंकामा होम क्वरेन्टीनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।
अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।
‘पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख रुपैयाँ उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण सुरु गरेको हो । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टीनमा राखिएको छ ।
‘विदेशबाट घर फर्किएर मण्डनदेउपुर नगरपालिकाको क्वरेन्टीनमा बसेका आठमध्ये हाल एक बाँकी हुनुहुन्छ, अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वरेन्टीनमै पठाइयो, उहाँहरुको निगरानी भइरहेको छ’, झाले भन्नुभयो ।
पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा–१२ कोलाँती मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा ज्यान गएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वरेन्टीनमा राखिएको थियो ।
कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताउनुभयो ।
यसैबीच काभ्रेपलाञ्चोकका १३ पालिकाले क्वरेन्टीन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नगरपालिका र सात गाउँपालिकामा ३२१ शैय्याका क्वरेन्टीन व्यवस्थित भएका हुन् ।
जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० शय्याका क्वरेन्टीन व्यवस्थित गरिएका हुन् ।
पाँचखालमा वडा प्रवेशमा रोक
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा एक वडाबाट अर्को वडामा जान नपाइने भएको छ । कार्यपालिकाको बैठकमा उक्त निर्णय गरिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।
‘कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढिरहेका बेला सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि उक्त निर्णय गरेका हौँ’, खरेलले भन्नुभयो । उहाँका अनुसार तरकारी, दूध, औषधि तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।