१९ अन्तर्राष्ट्रिय उडान : फर्किए तीन हजार  विदेशी

 चैत २६, २०७६ बुधबार १६:८:५८ | रासस
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ । 

देश लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिकजसो उडान भए । 

लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आज २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लकडाउनको अवधिमा १९ वटा अन्तर्राष्ट्रिय उडानबाट तीन हजारभन्दा बढी विदेशी स्वदेश फर्किएको जानकारी दिनुभयो ।

यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् । 

यसबीचमा विशेषगरी युरोपेली देश जर्मनी, फ्रान्स, न्यूजिल्याण्डलगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । 

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाण्डौ ल्याउन सहजीकरण गरेको थियो । 

सम्बन्धित देशको नेपालमा रहेका दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन सुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए ।
 आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् । 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लो पटक वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

लकडाउनको अवस्थामा सरकारले चैत ९ गतेदेखि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार भएको बैठकले आगामी वैशाख १५ गतेसम्म अन्तर्राष्ट्रिय हवाई प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो । 

अघिल्लो चैत १६ गतेको समिति बैठकले वैशाख ३ सम्म उडान बन्द गरेको थियो । बेलायत र जर्मनका ५४० भन्दा बढी नागरिक फर्किए 

विभिन्न देशले नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत फिर्ता लगिरहेका छन् । 

यसैबीच बेलायत र जर्मनले आज ५४० भन्दा बढी नागरिक फर्ता लगेका छन् । जर्मनीले कतार एयरवेजको जहाज चार्टर्ड गरी २५८ नागरिक फिर्ता लगेको छ भने आजै बेलायतको टिटान एयरवेज मार्फत २५२ भन्दा बढी नागरिकलाई स्वदेश फर्काएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । 

बेलायतले एक दुई दिनभित्रै थप नागरिकलाई स्वदेश लैजाने तयारी गरेको बताइएको छ । 

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्च २१ सम्म करिब २५ हजार विदेशी नागरिक नेपाल आएका छन् । 

यीमध्ये तीन हजारभन्दा बढी स्वदेश फर्केका छन् । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको छन् । अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया