हातखुट्टा नधोइ छोराछोरीले भित्र पस्न दिँदैनन् !

 चैत २८, २०७६ शुक्रबार १०:१९:१० | रासस
unn.prixa.net

काठमाण्डाै – 'केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।" आजभोलि हातखुट्टा नधोइ खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ ।

कोरोना भाइरस (काेभिड १९) को त्रासका कारण सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । खानेकुरा पाउनासाथ हात नधोइ हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ ।

अहिले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका सबै ठाउँमा सरसफाइप्रति चेतना जागेकाे छ । गाउँगाउँमा प्रहरी र पालिकाकाे कोरोनाविरोधी गतिविधि व्यापक रूपमा प्रस्तुत भएको देखिन्छ । सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरुलाई प्राथमिकता दिन थालेका छन् ।

जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हातखुट्टा साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन् । जाजरकोटको नलगाड नगरपालिका ९ का तुले कामीले भन्नुभयो, 'हातखुट्टा नधोय घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिकसमेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्य जस्तै भएको छ ।' नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क (मुखावरण) वितरणको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

डोल्पाको ठूलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियतामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताउनुभयो ।

जनचेतना जगाउने सबैभन्दा पहिलो तहमा प्रहरी, जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । पालिकाले घरघरमा गएर मास्क वितरणदेखि साबुन उपलब्ध गराउँदै व्यवहार परिवर्तन गरी लकडाउनलाई सघाउन आग्रह गरिरहेका छन् । प्रत्येक घरबाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणको पहिलो काम हुँदै आएको छ ।

सबै पालिकाले वडास्तरमा विपत प्रतिकार्य समूह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । सामाजिक चेतनाका कामा गर्दै आएका गैह्रसरकारी संस्थाका गतिविधि भने अहिले सुस्ताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया