चामल कहिले आउँछ बाबु ?

 वैशाख २, २०७७ मंगलबार १६:१२:१७ | रासस
unn.prixa.net

जाजरकोट - ‘कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्याे बाबु ?

जुनिचाँदे गाउँपालिका-११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो हात फर्कुनुमा बित्छ ।

गाउँमा पुरानो अन्न सकिएको छ । नयाँ गहुँ बाली पाकेको छैन । मजदुरी गर्न जान लकडाउनले रोकेको छ । खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटले ताँगाका लागि निर्धारण गरेको कोटा सकिएका कारण त्यस ठाउँमा चामल प्राप्त हुन सकेको छैन । 

जुनिचाँदे गाउँपालिका जिल्लाको अति दुर्गम क्षेत्र मानिन्छ । यहाँ खेतीयोग्य जमिन काम भएकाले खाद्यान्न उत्पादन समेत कम हुने गरेको छ । ताँगामा चामल ल्याउन ढुवानी भाडा नभएका कारण समस्या भएको कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताउनुभयो ।

जुनिचाँदे गाउँपालिका - १० का पदम खड्काले भन्नुभयो, ‘हाम्रो ठाउँमा सिंचाइ गर्न पानी भए पनि खोलामै बगेर जान्छ । खेतमा लगाउन पैसाले पुग्दैन ।’

अहिले जाजरकोटको बारेकोट गाउँपालिकामा रहेको घाट डिपोमा समेत चामल सकिएको छ । शनिबार झण्डै २ सयभन्दा बढी गाउँलेहरु कम्पनीको कार्यालयमा गएपनि पचास प्रतिशतले चामल नपाएर फर्किएको तोलखानाका डम्बर सिंहले जानकारी दिनुभयो। 

चामल नपुगेकै कारण धेरै स्थानीयावासीहरु फर्कनुपरेको थियो । गाउँपालिकालाई तुरुन्तै खाद्यान्नको व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारेकोट गाउँ कमिटीले आग्रह गरेको छ । 

बारेकोट गाउँपालिकाका अध्यक्षले महेन्द्रबहादुर शाहले चामल अभावबारे आफूले थप बुझ्ने बताउनुभयो । बारेकोटमा खाद्यान्न ढुवानी गर्ने ठेकेदारले फागुन १५ सम्म २ हजार क्विन्टल चामल ढुवानी गर्ने सम्झौता गरेपनि अहिलेसम्म ढुवानीको काम पूरा नगरेको कम्पनीका प्रमुख बस्नेतले जानकारी दिनुभयो । 

अहिले कार्यालय आफैँले केही चामल खच्चडमा ल्याउने गरेको छ।
 
आवागमन रोक्न पुलमा ताला

लकडाउन कार्यान्वयनका लागि डोल्पा सडक खण्डको विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा ताला लगाइ बिरामीबाहेक अन्यलाई आवतजावत ठप्प पारिएको छ । 

जिल्लाको नलगाड नगरपालिका –७ चामेखेत, वडा ८ को वगरा र वडा ११ को तल्लु लगायतका ठाउँमा रहेका झुलुङ्गे पुलमा ताला लगाएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकासँग जोडिएका यी ठाउँमा भेरी नदी पर्छ । 

त्यस्तै डोल्पा, जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीमा समेत पुलमा ताला र सडकमा बार लगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो  ।सुरक्षा व्यवस्था कडा भएका कारण खाद्यान्नलगायत सामग्री लिन समेत निकै समस्या भएको नलगाड नगरपालिका –८ का नेत्र बिसीले बताउनुभयो । 

नगरपालिका -८ का शिक्षक बीरबहादुर खत्रीले गाउँबाट तरकारी, दूध र दहीसमेत बजार लान नसकिएको जनाउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया