असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
जीवा लामिछाने
एकान्तवासमा रहँदा धेरैले दाह्री पालेको फोटो सार्वजनिक गरेका छन् । मैले दाह्री नकाटेको पनि आज ठ्याक्कै एक महिना भएछ । घरबाट बाहिर निस्कनु नपर्ने दिनमा म सधैँ द्विविधामा हुन्छु- दाह्री काटौं कि नकाटौं भनेर । सामान्य अवस्थामा सप्ताहान्तमा म दाह्री काट्ने गर्दिन । अहिले त हरेक दिन सप्ताहान्त भएकोले दाह्री काटी राख्नु जरुरत भएन ।
रुसी सम्राट पिटर महानको पालामा भएको भए यसरी दाह्री नकाटे बापत निक्कै रकम ‘ दाह्री कर’ दाखिला गर्नुपर्ने हुन्थ्यो । पिटर महानले रसियनहरु पनि पश्चिमी यूरोपियनहरु झैं संस्कारयुक्त देखिउन भन्ने उद्देश्यले सन १६९८ मा रुसमा ‘ दाह्री कर’ लगाउन सुरु गरेका थिए ।
सामाजिक स्तर अनुसार यो करको दर निर्धारण गरिन्थ्यो । साहु महाजन र कुलीन वर्गका मानिसहरुबाट बढी कर असुलिन्थ्यो । साहु/महाजनका लागि १०० रुबल, दरबारियाका लागि ६० रुबल र सरकारी कर्मचारी र मस्कोवासीहरुले ३० रुबल तिर्नु पर्ने हुन्थ्यो। किसान र पादरीहरुलाई भने दाह्री कर मिनाहा गरिएको थियो । किसानहरुले शहर आउनु पर्दा प्रत्येक पटक थोरै दस्तुर तिर्नु पर्थ्यो– २ कपेक (पैसा) ।
समयक्रममा उनले बसालेको करको रकम परिमार्जित हुँदै गयो । केही समय सबैले समान रुपमा ५० रुबल दाह्री कर तिर्नुपर्ने नियम बसाले पनि त्यो धेरै समय टिकेन । त्यो बेलाको सहकालमा यो कर बापत लगाइएको शुल्क चर्कै हो भन्नुपर्छ ।
इतिहासकारहरुले उल्लेख गरेका छन् - दार्ही कर बापत उठेको रकमले राज्यको खजानामा निक्कै ठुलो धनराशी जम्मा हुने गर्थ्यो । दाह्री कर तिरेका मानिसहरुलाई कर चुक्ता प्रमाण पत्र स्वरूप एक प्रकारको सिल्भर टोकन वा ढक दिने गरिन्थ्यो, एक बर्षसम्म मान्य हुनेगरी । टोकनमा लेखिएको हुन्थ्यो रकम असुल गरिएको छ । दाह्री पाल्नेहरुले त्यो ढक लिएर हिड्नुपर्थ्यो ।
बेलाबेलामा कडा हुने र खुकुलो पार्ने गरे पनि यो कर प्रणाली रुसमा लामै समय कायम रह्यो । सम्राट अलेक्जेन्डर द्वितीय, जो आफैं पनि लामो दाह्री पाल्न मन पराउथें, को पालामा मात्रै यो कर प्रणाली ख़ारेज गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।