'लकडाउन'ले दूध खपत नभएपछि पनीर र घ्यू उत्पादन

 वैशाख ६, २०७७ शनिबार १५:२७:२० | रासस
unn.prixa.net

स्याङ्जा – लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनिर, नौनीघ्यू उत्पादन गर्दै आउनुभएकाे छ ।  

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण बजारमा भएका मानिस गाउँघरमा गएकाले उत्पादित दूध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनीघ्यूलगायतका परिकार उत्पादन गर्दै आएको युवा व्यवसायी पिताम्बर डुम्रेले बताउनुभयो ।

युवा व्यवसायी डुम्रेको वालिङ नगरपालिका १२ मा ‘पनियारे कृषि फार्म’ मार्फत अहिले ९५ गाई तथा भैँसीबाट दैनिक दुई सय ७० लिटर दूध उत्पादन हुने गरेको छ । ‘लकडाउन अवधिमा एक सय ५० लिटर दूध बिक्री हुँदै आएको छ’, उहाँले भन्नुभयो, ‘बजारमा पहिला खपत हुने दूध अहिले पूरै खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनीघ्यूलगायतका परिकार उत्पादन थालेको हुँ ।’

यहाँ उत्पादन भएको दूध, पनिर, नौनी, घ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको युवा व्यवसायी डुम्रेले बताउनुभयो । ‘फार्ममा उत्पादन भएको दूध पूरै खपत नभएपछि यसै खेर फाल्न पनि भएन’, युवा व्यवसायी डुम्रेले भन्नुभयो, ‘दूध पूरै खपत नभएपछि बाँकी रहेको दूधबाट केही समयसम्म राख्न सकिने वैकल्पिक परिकार उत्पादन गरेको हुँ, जुन राम्ररी बिक्री हुने गरेको छ ।’ 

दूधसँगै पनिर, नौनीघ्यू वालिङ, गल्याङ, बयरघारी, बायटारीलगायतका बजारमा रहेका डेरीमा बिक्रीका लागि राख्ने गरिएकाले उपभोक्ताले डेरीबाट आवश्यक परिकार खरिद गरेर लैजाने गरेको उहाँले बताउनुभयो । डुम्रेले अहिले दूधका साथै दैनिक १५ केजी पनिर र तीन केजी नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । पनिर प्रतिकेजी ६ सय ५० रुपैयाँ र नौनीघ्यू प्रतिकेजी आठ सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

लकडाउनका कारण फार्ममा उत्पादित दूध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहन सक्ने परिकार उत्पादन थालेसँगै समस्या समाधान भएको व्यवसायी डुम्रेको भनाइ छ । उत्पादित वस्तुको बिक्री नभइ खेर जाने अवस्था आएमा वालिङ नगरपालिकाले खरिद गर्ने बताएसँगै थप ऊर्जा बढेर आएको उहाँको भनाइ थियो । 

‘उत्पादित वस्तु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस्, हामीले खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाउँछौँ’, पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले भन्नुभयो, ‘अहिले वालिङ नगरभित्रका पशुपालक व्यवसायी उत्साहित हुनुहुन्छ र उत्पादित वस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।’ वालिङ नगरपालिकाका १४ वडामा २५ पशुपालन फार्म सञ्चालनमा रहेको पशु शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

वालिङ नगरपालिकाले पशुपालक व्यवसायीको फार्ममै पुगेर उत्पादित वस्तुको बजारीकरण, पशु आहारा, दानापानी र ओसारपसारमा आइपरेका समस्याका बारेमा सहजीकरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया