कोरोना सङ्क्रमणबाट निको भएर कैलालीका एक युवक डिस्चार्ज

 बैशाख ७, २०७७ आइतबार १८:१२:४६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - कैलालीका कोरोना सङ्क्रमित एक युवक आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुभएको छ । 

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किनु भएको हो । कोेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालबाट बाहिरिँदै गर्दा उहाँले निको भएकोमा खुशी व्यक्त गर्नुभयो । 

उहाँले हिम्मत नहारेमा कोरोनालाई हराउन सकिने र निको भएर घर फर्किन सकिने भएकोले हिम्मतका साथ कोरोनासँग लड्न सबैलाई आग्रह गर्नुभयो । 
११ दिनसम्म क्वरेण्टीनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेशनमा बस्नुभएका उहाँ घर फर्कन पाउँदा खुशी देखिनुहुन्थ्यो ।

उहाँलाई सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले पुष्पगुच्छा प्रदान गर्दै बधाई दिएर बिदाइ गर्नुभएको थियो । 
१२ गते भारतबाट घर पुग्नुभएका उहाँलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताउनुभयो । 

अब सेतीमा चार जना सङ्क्रमणको उपचार भइरहेको छ । अन्य चार जना कोरोना सङ्क्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उहाँकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको थियो । 

डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्बर १ की महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । 
धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया