विभिन्न नाकाबाट प्रदेशभित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

 वैशाख १३, २०७७ शनिबार ७:२१:३३ | रासस
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट वाग्मती प्रदेश प्रवेश गर्ने जोकोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिनुभएको छ । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश २ बाट वाग्मती प्रदेशको राजधानी हेटौँडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौँडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गर्नुभयो ।

 वडा नम्बर १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले शुक्रबार शुरुआत गर्नुभएको हो । उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ ।

एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । 

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ । उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ ।

आफूहरूले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया