जोरपाटी–सुन्दरीजल सडकको काम फेरि सुरु

 वैशाख १५, २०७७ सोमबार ६:३१:२ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी भएपछि रोकिएको जोरपाटी–सुन्दरीजल सडकको काम सुरक्षाका उपाय अपनाई फेरि सुरु गरिएको छ । जोरपाटी–सुन्दरीजल सडकमा ढलको पाइप बिच्छ्याउने र रूख हटाउने काम बन्दाबन्दी जारी रहे पनि सुरु गरिएको हो । 

काठमाण्डौ उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी–सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम सुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम सुरु गरी २१ रूख काटिएको छ । 

पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम सुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर ह्युम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी सुरु हुनुअघि दुई किमी सडकको दुवैतिर ह्युम पाइप राखिएको थियो । 

आर्थिक वर्ष २०७२७३ मा ठेक्का भएको सडक गत असार मसान्तमै सकिनुपर्ने योजना थियो । सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म कामसमेत सुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताउनुभयो । 

सडकको केन्द्रविन्दुबाट ११÷११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात÷सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११÷११ मिटर सडक नै बनाइने जनाइएको छ । 

आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताउनुभयो । असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि सुरु भइसकेको छ । 

नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउनुहुन्छ । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया