भद्रपुरमा मूल्यभन्दा बढीमा सामान बेच्ने कम्प्लेक्सलाई जरिबाना

 वैशाख १८, २०७७ बिहीबार १४:५:७ | रासस
unn.prixa.net

झापा - जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई आज रु २५ हजार जरिवाना गरेको छ । 

चन्द्रगढीमा रहेको लेखनाथ चोकमा रहेको कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि बिहीबार समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताउनुभयो ।

समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु ३६ हजार जरिवाना गरेको थियो । 

 सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताउनुभयो । 

 समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया