चीनमा बिदा परेकाले स्वास्थ्य सामग्री ल्याउन केही दिन लाग्ने

 वैशाख २०, २०७७ शनिबार ६:२८:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लगाउने भएको छ । 

चीनमा आजदेखि आगामी मङ्गलबारसम्म सार्वजनिक बिदा दिइएको छ । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले थप केही दिन लाग्ने देखिएको हो । यसअघि आगामी मङ्गलबार सामान लिनका लागि नेपाल वायु सेवा निगमका वाइड बडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो । 

नेपाल ल्याउने सामान तयारी अवस्थामा चीनको ग्वान्जाओमा आइपुगेको छ । ‘चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ’, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भन्नुभयो । नयाँ तालिकाअनुसार आगामी बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइनेछ । 

 स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जीटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो ।

नेपाली सेनाका प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ । 

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गो लगाएको थियो । 

सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो ।

अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । 

कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री  खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ ।

सेनाले बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग नियमित छलफल गरिरहेको छ । 

अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ ।

चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ ।

चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री पीपीई, मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ ।  त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया