महाेत्तरी - लुकीछिपी सीमा नाघेर आउने जाने क्रम नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेरबार लगाउन थालिएको छ ।
जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेरबार लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।
सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेरबार लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित ६ पालिकाको सीमा भारतसँग जोडिएको छ ।
भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् । ‘मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेरबार शुरु गरिएको हो’, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भन्नुभयो, ‘यो अस्थायी घेरबारले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।’
सीमा क्षेत्रमा घेरबार थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ ।
जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक-सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ ।
सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वरेन्टीन केन्द्रमा पुर्याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ताकाेभ भनाइ छ ।
अन्तिम अपडेट: पुस २७, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।