कोरोना कहरबीच डेङ्गीको डर

 जेठ ३, २०७७ शनिबार १५:५१:५८ | रासस
unn.prixa.net

बाग्लुङ – कोरोना कहर मत्थर नहुँदै बाग्लुङमा देखिएको डेङ्गी सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गीबाट सँगैसँगै जोगिनुपर्ने भएको छ ।

डेङ्गी ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । धवलागिरि अस्पतालमा उपचाररत जैमिनी नगरपालिका ८ की २३ वर्षीया युवतीमा शुक्रबार डेङ्गी लागेको पुष्टि भएको छ ।  

‘बिरामीमा शङ्कास्पद लक्षण देखिएपछि जाँच गर्दा डेङ्गीको सङ्क्रमण भेटियो’, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो । सङ्क्रमित युवती गएकाे सोमबार अस्पताल भर्ना हुनुभएको थियो । युवतीको अवस्था स्थिर रहेको र थप जाँच गरिने प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । 

उहाँले गर्मी बढेसँगै डेङ्गीको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गर्नुभयो । ‘लामुखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरौँ’ उहाँले भन्नुभयो ।

यस जातको लामखुट्टले दिउँसो मात्र टोक्ने भएकाले बाहिर हिँडडुल गर्दा लामो बाहुला भएको लुगा लगाउन, पानी जम्ने पुराना भाँडाकुँडा, ड्रम, टायर आदिलाई घर छेउछाउ नराख्न सुझाव दिनुभयो । 

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले शुक्रबार फेला परेको सङ्क्रमण यो वर्षको पहिलो भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गएको वर्ष जिल्लाका १० जना व्यक्तिमा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।

‘सङ्क्रमित भेटिएको ठाउँमा ‘खोज र नष्ट’ गर अभियान सञ्चालन हुँदैछ, सम्बन्धित पालिका र स्वास्थ्य चौकीसँग समन्वय भइरहेको छ’, प्रमुख गुरौले भन्नुभयो । लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट गरिने उहाँको भनाइ छ ।

उहाँले डेङ्गी फैलिन नदिन घर तथा बसोबास क्षेत्रको सरफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । डेङ्गीविरुद्धको अभियानमा पालिकाको भूमिका र पहल महत्वपूर्ण हुने प्रमुख गुरौको भनाइ छ ।

स्वास्थ्य कार्यालयले गएकाे वर्ष पनि सदरमुकामलगायतका ठाउँमा ‘माइकिङ, सन्देशमूलक पर्चा वितरणदेखि सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम गरेको थियो । 

डेङ्गीको परीक्षण सेवा धवलागिरि अस्पतालमा मात्र उपलब्ध छ । शङ्कास्पद देखिएका व्यक्तिमा डेङ्गी परीक्षण हुँदै आएको छ । डेङ्गी जाँचका लागि परीक्षण किटको अभाव नरहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् ।

डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधि चलाउने गरिन्छ । गएको महिना छिमेकी जिल्ला म्याग्दीमा पनि डेङ्गी देखिएको थियो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया