सीमापारि आमाबुवा बितेको खबर, आउन नपाएपछि क्वरेण्टीनमै किरिया

 जेठ ५, २०७७ सोमबार २१:३:५१ | रासस
unn.prixa.net

बैतडी – हिउँदमा मजदुरीकाे लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । 

उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुवै जना झुलाघाटको जीआईसी क्वरेण्टीनमा बसे । स्वदेशको साँधमै अड्किएका दुई जनाले घरमा फोन गरी पीर नमान्नु भन्दै जानकारी गराएका थिए । घर फर्कने आशामा बसेका दुवै जना अचानक बुवा बितेको खबर पाएपछि बेहोसझैँ बने । 

बुवाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए । तर नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुवै जना सेतो कपडामा किरियामा बसेका छन् । 

बुवाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वरेण्टीनमै किरिया बसेका छन् । भट्टद्वयका बुवा देवदत्त भट्टको गएको वैशाख ३१ गते निधन भएको थियो ।    

यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ गते निधन भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन् । 

यसका साथै सिगास गाउँपालिका ९ का कृष्णसिंह धाँमीकी श्रीमती कलावती धाँमी गएको वैशाख ३० गते बितेकी भए पनि कृष्णले पनि स्वदेश फर्कन पाउनुभएकाे छैन । स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटकाे जीआईसी क्वरेण्टीनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिनुभयो ।  

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालको तर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताउनुभएको छ । ‘नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘हामीले पिथौरागढको डीएमलाई चार दिन अगाडि नै पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ ।’

यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।  

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया