लकडाउनमा पिकनिक मनाउने बढेपछि स्थानीयवासी त्रासमा

 जेठ ७, २०७७ बुधबार २०:३१:२० | रासस
unn.prixa.net

कैलाली – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन जारी छ । तर यहाँका युवा यतिखेर पिकनिक मनाउन पहाडी क्षेत्रमा जान थालेका छन् । 

पहाडी क्षेत्रमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुने भएपछि कैलालीका तराई क्षेत्रबाट युवा पिकनिक खाने बहानामा पहाडी क्षेत्रमा जाँदा स्थानीयवासीमा भने त्रास सिर्जना भएको छ । लकडाउनमा मानिस घरभित्रै बस्नुपर्ने हो तर कैलालीका पहाडी जिल्लामा अहिले दैनिक पिकनिक खानेको भिड लाग्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । 

कैलालीको मोहन्याल गाउँपालिकाका विभिन्न ठाउँमा बाहिरबाट गएका मानिसको भिडभाड बढेपछि स्थानीयवासी त्रसित भएका मोहन्याल २ पण्डोनका नन्दराम भण्डारीले बताउनुभयो । ‘मोहन्याल गाउँपालिकाका राजकाँडा, काइजुवा, चोसेकाँडा, बजाडी, कटौजे, गर्भा दरबारलगायत ठाउँमा पिकनिक खाने, काफल खाने, घुम्ने भन्दै तराई क्षेत्रबाट मानिस भित्रिन थालेका छन्’, उहाँले भन्नुभयो, ‘यहाँका स्थानीयवासी कोरोना सङ्क्रमण फैलिन्छ कि भनी त्रसित भएका छन् ।’

यहाँ दैनिक २०÷२५ मोटरसाइकलसहित मानिसको भिडभाड बढेको छ । ‘तराईका शहरबाट युवा पहाडी गाउँ पसेपछि स्थानीयवासी डराएका हुन्’, भण्डारीले भन्नुभयो, ‘हाम्रो गाउँका मानिस जङ्गलसमेत जान डराएका छन् । पाकेको काफल टिप्न सकेका छैनन् तर अन्य ठाउँका मानिसले जङ्गल भरिन थालेका छन् ।’ 

मोहन्याल गाउँपालिकाको काइजुवाका डम्बर नाथ योगीले पनि गाउँमा बाहिरका मानिसको चहलपहल बढेपछि डर लागेको बताउनुभयो । ‘यस्तो विपत्तिको समयमा मानिस आफ्नो घर फर्कन थालेका छन् तर यहाँ त कैलालीका अन्य स्थान र अन्य जिल्लाका मानिस भित्रिन थालेका छन्’, उहाँले भन्नुभयो, ‘दुई दिनअघि कञ्चनपुरका युवा पनि काफल खान भन्दै यहाँ पुगेका थिए ।’ योगीले अपरिचित युवा गाउँमा रमाउन थालेपछि स्थानीयवासीलाई अनिवार्य काममा निस्कनसमेत जोखिम रहेको बताउनुभयो ।

‘बाहिरका मानिसको चहलपहल गाउँमा बढ्न थालेपछि ती मानिस आउने बाटोमा प्रहरी प्रशासनले कडाइ गर्नुपर्छ’, मोहन्याल ३ सल्लेरीका मोहन वटालाले भन्नुभयो, ‘नभए पहाडी जिल्लामा जोखिम बढ्छ ।’ 

स्थानीय पत्रकार रमेश सापकोटाले गाउँमा भिडभाड बढेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । ‘भिडभाड बढेकाले रोक्नुप¥यो भनी प्रहरी प्रशासनलाई खबर गरेका छौँ’, उहाँले भन्नुभयो, ‘दैनिक सयौँ नागरिक यहाँ पिकनिक खान, रमाउन आउन थाले, लकडाउनको समयमा यिनीहरु कसरी आइरहेका छन् ?’

मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयानन्द जैशीले भिड बढेपछि गाउँपालिकाले पनि बाहिरबाट आउने व्यक्तिलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया