पाँचथरमा विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग

 जेठ ९, २०७७ शुक्रबार १३:५६:१९ | रासस
unn.prixa.net

पाँचथर - पाँचथरका पालिकाका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । 

जिल्ला समन्वय समितिले अहिले फिदिममा आयोजना गरेको भेलामा पालिकाका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् । 

द्रूत डाइग्नोष्टिक परीक्षण (आरडीटी) विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् । 

‘बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वरेन्टीन प्रभावकारी हुन्छ न त होम क्वरेन्टीन नै’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भन्नुभयो, ‘आरडीटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन । यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस् ।’

अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पुर्याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताउनुभयो । भारतसहित अन्य देशमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा पालिकाका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत व्यक्त गरेका छन् । 

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा व्यवस्थित क्वरेन्टीन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई हप्तासम्म राख्ने प्रबन्ध गर्न आग्रह गर्नुभयो । ‘बरु क्वरेन्टीनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ”, अध्यक्ष थापाले भन्नुभयो, ‘सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस् ।’

 सदरमुकाम बाहिरका पालिकाहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पर्याप्त नहुँदा विगतमा क्वरेन्टीन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ । ‘प¥र्याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वरेन्टीन ब्यवस्थापमा स्वयम्सेवकसमेत परिचालन गर्र्यौँ’, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भन्नुभयो ।

विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वरेन्टीनमा राखिएको थियो । क्वरेन्टीनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नपरेको तथा क्वरेन्टीनमा बस्नेले अनावाश्यक सुविधा खोजेको पालिकाका जनप्रतिनिधिहरुको साझा गुनासो छ ।

 जनप्रतिनिधिले रोजगारीका लागि खाडी देशलगायत अन्य देशमा गएका नागरिकसमेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा व्यवस्थित क्वरेन्टीन निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ ।

काठमाण्डौबाट यहाँका वासिन्दा ल्याइएपछि जनप्रतिनिधिले अतिरिक्त दबाब भोग्नुपरेको गुनासो गरेका छन् । याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ रातारात एम्बुलेन्स तथा खाद्यान्न ढुवानी गर्ने साधनमा आउनेले पालिकालाई समस्या थपदिएको बताउनुहुन्छ । क

तिपय ठाउँमा त सङ्क्रमित भेटिएका जिल्लाबाटै पैदल यात्रा गरेर आउने क्रमसमेत देखिएपछि जनप्रतिनिधिहरु चिन्तित बनेका छन् । 

सर्वपक्षीय भेलाले सदरमुकाम फिदिम नगरपालिका तथा सात वटै गाउँपालिकामा सरकारले तोकेको मापदण्डअनुसारका सकेसम्म धेरै वेड क्वरेन्टीन निर्माण गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

भेलाका सहभागीहरुले मंहगी नियन्त्रण गर्न, एम्बुलेन्सबाट भइरहेको आवागमन रोक्न, शिक्षक, कर्मचारी र दलका कार्यकर्तालाई क्वरेन्टीन व्यवस्थापनमा खटाउनसमेत आग्रह गरेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया