गुल्मीमा पत्रकारका लागि कोरोना कोष

 जेठ १०, २०७७ शनिबार १३:५०:५६ | रासस
unn.prixa.net

गुल्मी - नेपाल पत्रकार महासङ्घ गुल्मीले कोरोना रोकथाम तथा उपचारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।

महासङ्घ जिल्ला कार्यसमितिको शुक्रबार साँझ बसेको बैठकले जिल्लामा क्रियाशील पत्रकार एवं सञ्चारकर्मीका लागि डेढ लाख रुपैयाँको कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय सञ्चारकर्मीमा पनि कोरोना संक्रमण देखिएकाले महासंघकै भवनलाई आइसोलेशन हाउस बनाउने निर्णय गरिएको पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताउनुभयो ।

मास्क र स्यानिटाइजर वितरण

पत्रकार महासंघ गुल्मीले जिल्लामा क्रियाशील सञ्चारकर्मी र सञ्चारगृहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिपत्रकारलाई २० थान मास्क र दुई मिलिलिटर सेनिटाइजर तथा प्रतिसञ्चारगृहलाई एक सय थान मास्क र एक लिटर सेनिटाइजर वितरण गरिएको पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो ।

पत्रकार महासंघ गुल्मीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, प्रेस काउन्सिल, एकीकृत ग्रामीण विकास समाज, स्वास्थ्य कार्यालय, धुर्कोट गाउँपालिका, गुल्मी उद्योग वाणिज्य संघ र महेश फर्माले ती स्वास्थ्य सामग्री सहयोग गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया