सङ्क्रमण बढेपछि गुहार माग्दै पालिका

 जेठ ११, २०७७ आइतबार १५:४६:४२ | रासस
unn.prixa.net

बाँके – नरैनापुर गाउँपालिकामा एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि पालिकाले गुहार मागेको छ । 

गाउँपालिकाले शनिबार तीन तहका सरकार र सरोकार राख्ने निकायलाई पत्राचार गर्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ । 

गाउँपालिकाले क्वरेण्टीनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड-१९ सङक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेको हो । 

नरैनापुरमा एक जनाको मृत्युसमेत भइसकेको छ । उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । 

सङ्क्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र सङ्क्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले सङ्क्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाले अनुमान गरेको छ ।  

'तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अघि बढाउने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिइएको बोधार्थपत्रमा लेखिएको छ । 

नरैनापुरमा कोरोना सङ्क्रमितलाई भगाउनेहरु सक्रिय रहेकाले सुरक्षाको माग गर्नुपरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो । नरैनापुर नेपालमा कोरोना सङ्क्रमित सबैभन्दा बढी हुने पालिका बनेको छ । यहाँका क्वरेण्टीनमा भारतबाट नेपाल भित्रिने क्रम जारी छ । 

शिक्षा र चेतनाको कमीका कारण नरैनापुरमा कोभिड-१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षणपत्रमा उल्लेख गर्नुभएको छ । भारतका कोरोना अति प्रभावित क्षेत्रबाट अझै हजारौंँ मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । 

नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज छ । बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको छ । 

‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिस प्रवेश गरिरहेका छन् । गाउँपालिकाले लुकीछिपी गाउँमा कोही नबसून्, सबै क्वरेण्टीनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वरेण्टीनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।

भारतका महाराष्ट्र र दिल्लीबाट यहाँ मानिस ओइरिरहेका छन् । यस गाउँपालिकामा मात्रै अहिलेसम्म आठ सय जना क्वरेण्टीनमा छन् ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया