रुकुम घटनाको निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

 जेठ १३, २०७७ मंगलबार १०:५१:२७ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

दैलेखबाट संसदमा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुम पश्चिमको चौरजहारी-८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी-१ को टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गरी पीडित परिवारप्रति कानुनी राज्यको अनुभूति दिलाउन आग्रह गर्नुभएको हो ।
  
विज्ञप्तिमा भनिएको छ, “यसरी नै जातीय भेदभाव तथा छुवाछुतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो देशले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछुतको सवाललाई शून्य सहनशीलतासहित प्रभावकारी रूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।”

गएको शनिबार चौरजहारी नगरपालिका-८ को सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घर जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट  नवराज र टीकारामको  ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानुनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया