प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
मोरङ – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ ।
प्रदेशमा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी सुरु गरेको प्रदेश सरकारले जनाएको छ ।
सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै चार सय ५० शय्या (बेड) को आइसोलेशन उपचार केन्द्र निर्माण कार्यलाई तीव्र पारेको छ । कोरोना सङ्क्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।
प्रदेशमा यसअघि कोभिड-१९ उपचार केन्द्रका रूपमा विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार सुरु गरिँदैछ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँ, झापाको दमक, सुनसरीको वराह क्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी चार सय ५० बेडको आइसोलेशन उपचार केन्द्र तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीको मङ्गलबार भएको अनलाइन संवादमा मन्त्री घिमिरेले याे कुराकाे जानकारी दिनुभएको हो ।
प्रदेशमा कोरोना सङ्क्रमितको उपचारलाई वर्गीकरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, ‘कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेशन उपचार केन्द्रमा राखिनेछ ।’
सङ्क्रमितको उपचार वर्गीकरण गरेर गर्ने गरी आवश्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको उहाँले बताउनुभयो । प्रदेशमा पुल विधिबाट कोरोना परीक्षणको काम सुरु भएको जानकारी दिँदै परीक्षणको क्षमता बढेसँगै आवश्यक सामग्रीको भने अभाव भएको उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रदेशमा जेठ र असारभित्रमा ७० हजारको पीसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री घिमिरेको जानकारी दिनुभयो । उहाँले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी सुरु गरिएको र पीसीआर परीक्षणको क्षमता बढाएसँगै किट अभाव भएको बताउनुभयो ।
प्रदेशमा कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको बताउँदै घिमिरेले कोरोना सङ्क्रमितको उपचार कोभिड अस्पतालबाट केन्द्रित गर्दा सरकारी अस्पतालले नियमित सेवा दिन सकेको गुनासाे गर्नुभयाे ।