मजदुरलाई न्यूनतम पारिश्रमिक पनि नदिने उद्योग कारबाहीमा पर्ने

 साउन १६, २०७५ बुधबार १४:३५:४१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक प्रदान गर्न विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताउनुभएको छ । 

विराटनगरमा आयोजित अन्तरक्रियामा उहाँले विगतमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । 

औद्योगिक प्रतिष्ठानको वर्गीकरण गरी बैंक खाता खोल्ने समय सीमा तोकिएको बताउँदै उहाँले अब पनि न्यूनतम पारिश्रमिक नदिएको गुनासा आए कारबाही गरिने स्पष्ट पार्नुभयो ।

सरकारको निर्णयलाई कसैले पनि कुनै पनि बहानामा पालना नगर्ने छुट नपाउने बताउँदै उहाँले तोकिएको समय सीमाभित्र बैङ्किङ प्रणालीमार्फत श्रमिकलाई  न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुुपर्ने बताउनुभयो ।

सरकारले अबको केही महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरिरहेको मन्त्री विष्टको भनाई छ । 

सरकारले तत्कालै  मातृ स्वास्थ्य, रोजगार सुरक्षा, दुर्घटना सुरक्षा र बृद्ध अवस्था योजनालगायतका चार वटा योजनाहरु लागू गर्ने गृहकार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजनीतिक आन्दोलन र परिवर्तनमा मजदुरहरुको ठूलो योगदान रहेको बताउँदै उहाँले अब देशको आर्थिक समृद्धिमा पनि मजदुरहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

व्यापारीका फरक कुरा 

प्रदेश एकका उद्योगीहरुले  भने धराशायी हुन लागेको उद्योगलाई पुनर्जीवन दिन सरकारले विशेष सहुलियत दिनुपर्ने माग गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंकको उच्चतम व्याजदर, विद्युतको समस्या र हालै वृद्धि गरिएको मजदुरको न्यूनतम पारिश्रमिकका कारण प्रदेशका उद्योगहरु धराशायी भएको बताउनुभयो ।

उहाँले उद्योगहरु फस्टाए प्रशस्त रोजगार सृजना हुने भएकाले अन्य मुलुक झैं नेपालका उद्योगीहरुलाई विशेष सुविधा दिइनुपर्ने माग गर्नुभयो ।

कार्यक्रमा मजदुर नेताहरुले विगत वर्षमा जस्तै यस पटक पनि न्यूनतम पारिश्रमिक कागजमा मात्रै सीमित हुने हो कि भन्दै आशंक व्यक्त गरेका छन्  ।


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया