सोती घटना : छानबिन समितिले काम थाल्यो

 जेठ १६, २०७७ शुक्रबार १४:८:३८ | रासस
unn.prixa.net

रुकुम पश्चिम - सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम सुरु गरेको छ । 

समितिले आज  पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै समितिले भेरी नगरपालिका-४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । 

 सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । यस घटनामा जाजरकोट भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र  गणेश बुढा तथा भेरी-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ। भेरी -११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । यस ज्ञापनपत्र बुझ्दै संयोजक  बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजी जारी रहेको सन्देश पठाएकोसमेत संयोजक बस्नेतले जानकारी दिनुभयो ।

शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उहाँको भनाइ छ । आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा जाने प्रजिअ पन्तले  जानकारी दिनुभयो । 

यस समितिमा गृह मन्त्रालयका सहसचिव  बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल छन् ।  

यही जेठ १० गते चौरजहारी-८ सोतीमा भएको घटनामा   नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न ठाउँमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी  छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया