राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता

 जेठ २०, २०७७ मंगलबार ६:३६:४१ | रासस
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) सङ्घीय संसद् सचिवालयमा दर्ता गराएका छन् ।

राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उक्त संशोधन प्रस्ताव विधेयकको रुपमा दर्ता गराउनुभएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

मधेश केन्द्रित दुवै पार्टीले गैरसरकारी विधेयकको रुपमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेश केन्द्रित दलहरुले उठाउँदै आएका विषय समेटिएका छन् । नागरिकता, भाषा, प्रदेशको सिमाङ्कन हेरफेरका लागि आयोग गठन, राष्ट्रियसभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव छ । कतिपय संविधान निर्माणका क्रममा अस्वीकृत भएका मागहरुलाई समेत संशोधनमा समेटिएको छ । 

त्यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्न माग गरिएको छ । राजदूतलगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।

संसद्मा रहेका यी दुवै पार्टीले एक महिनाअघि दुई पार्टी एकताको घोषणा गरेका थिए । कानूनी रुपमा दलको मान्यता पाई नसकेकाले दुई दलका रुपमा विधेयक दर्ता गराएका छन् ।

यसअघि शुक्रबार राजपाले एकल रुपमा संविधान संशोधनको विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । सो विधेयक संसद् सचिवालयले अध्ययन गर्ने भनेपछि दर्ता भएको थिएन ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया