महाेत्तरीमा ९ लाख वृक्षाराेपण गरिँदै

 जेठ २३, २०७७ शुक्रबार १३:३७:२२ | रासस
unn.prixa.net

महोत्तरी – महाेत्तरीमा झण्डै नौ लाख वृक्षारोपण गरिने भएको छ । यस वर्ष वृक्षारोपणकाे लागि आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलफुल उत्पादनकाे लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फल प्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।

माग अनुसार लगत (अभिलेख) तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ । सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका पालिका र सर्वसाधारणले माग गरे अनुसारकाे क्षेत्रमा रोपण गरिने कार्यालयले जनाएको छ ।

जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारु टोलसहित ६ ठाउँमा कार्यालयले बिरुवा उत्पादन गरेको छ । नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले पालिका, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घ संस्थाको समन्वय र सहभागितामा नयाँ वृक्षारोपण गर्ने जनाएको छ ।

'खाली जग्गा, सडक छेउ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै–सुख' भन्ने नारा नै तय गरेर वृक्षारोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ ।

कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षारोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया